काठमाडौं । बेलायती साप्ताहिक द इकोनोमिस्टको वार्षिक विशेषाङ्क ‘द वर्ल्ड अहेड २०२७’ को आवरण चित्र सार्वजनिक भएको केही घण्टामै विश्वभर सामाजिक सञ्जालमा भाइरल बनेको छ। नेपालमा पनि फेसबुक, टिकटक र एक्समा यो चित्र ‘२०२७ मा के हुँदैछ ?’ भन्ने प्रश्नसहित व्यापक रूपमा सेयर भइरहेको छ।
पत्रिकाले यो विशेषाङ्क मंगलबार (नोभेम्बर १७) अनलाइनमा सार्वजनिक गरेको हो। यो नोभेम्बर २१ को छापा संस्करणसँगै आउनेछ।
चित्रमा के–के छ ?
अमेरिकी कलाकार क्लियोन पिटरसनले बनाएको चित्र रातो, कालो र सेतो रङको छ। यसमा क्षेप्यास्त्र, ट्यांक, युद्धक विमान, रोबोट र मानव आकृतिहरू एकसाथ राखिएका छन्। अन्तरिक्ष यात्रा, तौल घटाउने औषधि र सिनेमासँग जोडिएका सङ्केत पनि चित्रमा समेटिएका छन्।
‘यो को हो ?’ खोजीमा प्रयोगकर्ता
चित्रको माथिल्लो भागका आकृतिहरूलाई लिएर सबैभन्दा बढी अड्कल भइरहेको छ। प्रयोगकर्ताहरूले केही आकृतिलाई डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन, सी जिनपिङ र नरेन्द्र मोदीसँग जोडेका छन् भने दुई महिला आकृतिलाई इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी र जापानकी प्रधानमन्त्री सानाए ताकाइचीसँग। तर, पत्रिकाले कुनै पनि अनुहार आधिकारिक रूपमा पुष्टि गरेको छैन।
पत्रिकाको भनाइ : भविष्यवाणी होइन, प्रवृत्ति
पत्रिकाले आवरणलाई हेर्नुपर्ने प्रवृत्तिका रूपमा प्रस्तुत गरेको हो, भविष्यवाणीका रूपमा होइन। सम्पादक टम स्ट्यान्डेजले २०२७ का लागि १० प्रमुख विषय औंल्याएका छन्, जसमा ट्रम्पपछिको युगको सुरुवात, इरान युद्धको असर, एआईविरुद्ध बढ्दो असन्तुष्टि, बन्ड बजारमा दबाब र ताइवानमाथिको जोखिम प्रमुख छन्।
क्षेप्यास्त्र र ट्यांकले जारी द्वन्द्वलाई र रोबोटले श्रम बजार बदलिरहेका उद्योगलाई जनाउने बताइएको छ।
षड्यन्त्रका दाबी र तथ्य
हरेक वर्ष यो आवरणलाई ‘गोप्य सङ्केत’ वा ‘धनाढ्य परिवारको योजना’ भन्दै व्याख्या गर्ने गरिन्छ। तर, सामाजिक सञ्जालमा भनिएजस्तो यो पत्रिका रोथ्सचाइल्ड परिवारको होइन। उक्त परिवारले आफ्नो करिब २६.९ प्रतिशत सेयर यही वर्ष मार्चमा क्यानडाका अर्बपति स्टिफन स्मिथको कम्पनीलाई बेचिसकेको छ। पत्रिकाको सबैभन्दा ठूलो सेयरधनी इटालीको आग्नेली परिवारको कम्पनी एक्सर हो।
आवरणलाई भविष्यको अकाट्य सङ्केत ठान्नुभन्दा पत्रिकाको सम्पादकीय विश्लेषणको दृश्य सारांशका रूपमा बुझ्न विज्ञहरू सुझाव दिन्छन्।


























